काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को प्रचारप्रसारलाई पहिलो गीत ‘बाँसैको सुप्लाखे’मार्फत अघि बढाइएको छ । आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सार्वजनिक गीतमा अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीको प्रेमिल जोडी देख्न सकिन्छ ।
लोकलयमा आधारित गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर छ । गीतमा संगीत प्रशान्त सिवाकोटीले भरेका छन् भने शब्द सुरज गैरे विवशले लेखेका हुन् ।
स्मृति तिमिल्सिनाको कोरियोग्राफी रहेको भिडियोमा विजय र अञ्जनाले आकर्षक नृत्यसँगै प्रेमभाव प्रस्तुत गरेका छन् । विशेषगरी भिडियोको अन्तिम दृश्यले दर्शकको ध्यान खिच्छ । विजयले लुकाएर अञ्जनालाई रुमाल उपहार दिएको दृश्यले उनीहरूबीच प्रेमको सुरुवाती संकेत गरेको छ ।
कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेको ‘सिन्दुरे जात्रा’मा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ । फिल्मका निर्माता नेम महर्जन हुन् ।
निर्देशक पौडेलकै कथा रहेको फिल्मलाई सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् । पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् । राकेश खड्का र श्याम मगर सह-निर्माता छन् ।





