काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ । मंसिर १८ गते (डिसेम्बर ४) देखि प्रदर्शनमा आउने फिल्मको टिजरले कथावस्तुबारे संक्षिप्त संकेत गरेको छ ।
एक नवदाम्पत्य जोडीको सम्बन्धमा आउने उतारचढावलाई केन्द्रमा राखिएको टिजरमा प्रेम, धोका र वियोगको कथा प्रस्तुत गरिएको छ । टिजरको सुरुवात कटुवालले गाउँलेलाई सूचना सुनाएको दृश्यबाट हुन्छ । त्यसपछि विजय बराल र अञ्जना बराइली बिहेको रात प्रेमिल कुराकानी गरिरहेको देखिन्छ ।
तर, त्यसलगत्तै अञ्जना विनोद न्यौपानेको पछिपछि हिँडिरहेको दृश्य देखाइन्छ । टिजरको अन्तिमतिर अञ्जना डाँको छाडेर रोइरहेको र विजय गहभरि भएको दृश्यले फिल्ममा प्रेमसँगै धोका र वियोगको कथा पनि समेटिएको संकेत गर्छ ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपानेसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, अनिता गिरी, विनोद परियार र यूना खड्कालगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता नेम महर्जन हुन् ।
निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन् । फिल्ममा पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत, स्मृति तिमिल्सिना (गुरुआमा)को कोरियोग्राफी तथा सुप्रिम पराजुलीको रंग संयोजन रहेको छ ।
फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा रहेका छन् ।





